pokhara news

अकला नमुना साना किसान कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

गोपाल जिटी
वालिङ–२५, पुस ।
स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारी संस्थाले सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वालिङ नगरपालिका ६ नम्वर वडामा रहेको संस्थाले आज सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 
२०७५ सालमा स्थापना भएको साना किसान कृषि सहकारीले समूहगत रुपमा विभिन्न स्थान इकाई वार्षिक साधारणसभा गरेको थियो । इकाई वार्षिक साधारणसभा पछि आज प्रतिनिधिमूलक उपस्थितिमा आफ्नो वार्षिक कार्यक्रम सम्पन्न गरेको हो । 
साधारणसभाको उद्घाटन गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय पोखराका प्रवन्धक पदमराज गिरीले  साधारणसभामा शेयर सदस्यहरुले आफ्नो सहकारीको संस्थागत गतिविधिका बारेमा सुझबुझ गर्ने दिने भएको बताउनुभयो । शेयर सदस्य भनेका मालिकहरु हुन् र ती मालिकहरुले वार्षिक कार्यक्रममा संस्थागत गतिविधि नीतिगत कार्यक्रमहरुका बारेमा बुझ्ने र नबुझेका कुराका सन्दर्भमा सञ्चालकहरुसँग सुझबुझ गर्ने दिने भएको उहाँको भनाई थियो । सञ्चालक समितिद्वारा प्रस्तुत प्रतिवेदन चनाखो भएर सुन्ने र त्यो प्रतिवेदनमाथि छलफल गर्ने दिन हो । समितिले बनाएको वार्षिक कार्ययोजना के कति भयो र के कति भएन अनि किन हुन सकेन भनेर बुझने अनि आवश्यक सुझाव सल्लाहसमेत दिने दिन भएको उहाँले औंल्याउनुभयो । प्रतिवेदन ठीक भए पारित गर्ने र केही थप्नुपर्ने भए थप्न लगाएर संस्थाको वार्षिक प्रतिवेदन पास गरेर जानुपर्ने महत्वपूर्ण दिन भएको प्रवन्धक गिरीले बताउनुभयो । शेयर सदस्यहरुले खाइ नखाई बचत गरेको रकम सही तरिकाले लगानी भएको छ कि छैन, उचित परिचालन र सुरक्षा के कस्तो छ भनेर वार्षिक साधारणसभामा बुझ्नुपर्ने अर्को महत्वपूर्ण विषय रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पुण्य अर्यालले स्थापनाको सात वर्षे कार्यकालमा करिव २ हजार ५ सय शेयर सदस्य रहेको र १२ करोडसम्मको कारोबार गर्न सफल भएको जानकारी गराउनुभयो । यो उपलव्धी कुनै एक व्यक्तिको नभएर शेयर सदस्यहरुको विश्वास, अनुशासन, सञ्चालकहरुको इमान्दारिता र कर्मचारीहरुको मेहेनतको परिणाम भएको अध्यक्ष अर्यालले व्यक्त गर्नुभयो । यसैगरी अबको आर्थिक वर्ष कृषि एम्वुलेन्स सञ्चालन गर्ने, कृषि बजारको स्थापना गर्ने, शेयर सदस्यहरुको आकस्मिक उपचार गर्नुपर्ने स्थितिमा समूह प्रमुखको सिफारिसमा बढिमा १ लाखसम्म उपचार कर्जा उपलव्ध गराउने उद्देश्य  रहेको जानकारी गराउनुभयो । 
१ करोड ३६ लाख ३ हजार शेयर पूँजी रहेको संस्थामा ५ करोड ९ लाख १४ हजार ३ सय ९२ कूल निक्षेप रहेको छ । यसैगरी ९ करोड ९९ लाख ९० हजार ३४ लगानी गरेको सहकारीको ४२ लाख १ हजार ९ सय ९३ जगेडा कोष रहेको प्रतिवेदनद्वारा जानकारी दिइएको छ । संस्थाले यस वर्ष रु. १५ लाख २३ हजार ७ सय ७० रुपैयाँ ९४ पैसा खुद मुनाफा भएको लेख परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा संस्थापक शेयर सदस्य, नियमित बचतकर्ता, समूह प्रमुखलगायतलाई सम्मान गरिएको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर