pokhara news

उपकार सहकारीले साधारणसभा सुरु ग¥यो

मङ्सिर ३, वालिङ ।
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सुरु भएको छ । २०५० सालमा स्थापना भएको सहकारीले आफ्नो ३२ औं वार्षिक साधारणसभा आज चापाकोटको दामाचौर सेवाकेन्द्रबाट सुरु गरेको हो । गण्डकी प्रदेशकै प्रतिष्ठित उपकार साकोसले वालिङ नगरपालिका ८ र १३ को बायँटारी, चापाकोटको दामाचौर तथा कालीगण्डकी गाउँपालिकाको मिर्मी गरी ४ स्थानमा सेवाकेन्द्र सञ्चालन गरेर वित्तीय सेवा दिदै आएको छ । यसैगरी वालिङकै ७ नम्वर वडाको केवँरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ ।
सहकारीले सदस्य सम्पर्क कार्यालयसहित ५ वटै स्थानमा इकाई वार्षिक साधारणसभा गर्ने कार्यक्रम अनुसार आज दामाचौर सेवा केन्द्रबाट सुरु गरेको हो ।
संस्थाको कार्यक्रम अनुसार भोलि ४ गते सदस्य सम्पर्क कार्यालय केवँरेमा हुनेछ भने ५ गते मिर्मी सेवाकेन्द्रमा गरिने छ । यसैगरी ६ गते बायँटारी सेवाकेन्द्रमा र ७ गते वालिङ सेवाकेन्द्रमा गरेपछि ८ गते वालिङमा इकाई प्रतिनिधिहरुको सभासहित ३२ औं वार्षिक साधारणसभा सम्पन्न गरिने संस्थाले जनाएको छ ।
साधारणसभाको उद्घाटन गर्दै संस्थाका निवर्तमान अध्यक्ष भरतप्रसाद बगालेले सहकारी संस्थाहरुले शेयर धनीहरुलाई सहकारीका सन्दर्भमा स्पष्ट पार्न आवश्यक रहेको बताउनुभयो । कतिपय शेयर धनीहरुले संस्थाका बारेमा पूर्ण जानकारी नभएका कारण गुनासाहरु राख्ने गरेको भन्दै बगालेले सदस्य शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 
२७ जनाको २७ सयबाट सुरु गरेको सहकारीको आर्थिकवर्ष २०८०÷०८१ सम्म आइपुग्दा ७ करोड ८१ लाख ४४ हजार ३ सय शेयर पूँजी रहेको छ । यसैगरी ८६ करोड ५७ लाख, ९९ हजार १ सय ७३ रुपैयाँ ७८ पैसाको कारोबारसहित आफ्ना शेयर सदस्यहरुलाई गोलवद्ध गर्दै आएको संस्थाले जनाएको छ । ८ हजार १ सय ८५ जना शेयर सदस्य रहेको सहकारीले जिल्लाका ४ वटा नगरपालिका र ३ वटा गाउँपालिकाका विभिन्न स्थानहरुलाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको छ । सेवा विस्तार भएका नगरपालिकामा वालिङ, भीरकोट, चापाकोट र गल्याङ रहेका छन् भने गाउँपालिकाहरुमा कालीगण्डकी, बिरुवा र हरिनास पर्दछन् ।
उपकारले आर्थिक वर्ष २०८०÷०८१ मा कूल १ करोड २६ लाख ७ हजार ९ सय ३८ रुपैयाँ ७८ पैसा मुनाफा गर्न सफल भएको छ । रु. १० लाख २९ हजार ५ सय ५२ रुपैयाँ ८२ पैसा आयकर तिरेर १ करोड १५ लाख ७८ हजार ३ सय ८५ रुपैयाँ ९६ पैसा खुद मुनाफा गरेको छ । गत आर्थिक वर्ष ८९ दशमलव २१ प्रतिशत ऋण अशुली गरेको संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ९० दशमलव ०१ प्रतिशत अशुली भएको जनाएको छ ।
संस्थाको आर्थिक गतिविधिहरुको अवसरको सदस्यहरुमा वार्षिक प्रतिवेदनबाट सहज पहुँचको व्यवस्था भएको लेखा परीक्षणले देखाएको छ । यसैगरी संस्थाले सम्पत्ति सुद्धिकरण ऐन २०६४ अनुसार आफ्ना सदस्य तथा पहिचानसँग सम्बन्धित नियमहरुको पालना गर्ने क्रममा रहेको साथै श्रम ऐन २०७४ को आँशिकरुपमा पालना गरेको देखिन्छ । संस्थाले गरेको कारोबार त्यसको अख्तियारी भित्र रहेको र ती कारोबार सन्तोषजनक रुपमा भएको लेखा परीक्षणले उल्लेख गरेको छ ।
कार्यक्रममा नियमित बाल बचत कर्ता बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर