pokhara news

खेतमा धान पाकेर झुले, उत्पादनमा वृद्धि आउने कृषि ज्ञानकेन्द्रको अनुमान

कात्तिक ११, स्याङ्जा ।
यतिबेला मध्ये पहाडी क्षेत्रमा धान पाकेर पहेंलपुर भएर झुलेका छन् । किसानहरु धान काट्ने र सिहार्ने सुरसारमा छन् । भूगोल र हावापानी अनुसार तल्लोतहमा छिटो र माथिल्लोतहमा खेतिपाती केही ढिलो पाक्ने गर्दछ । विशेषगरी तिहारको मुहुर्तसँगै किसानहरुलाई धान काट्ने र सिहार्ने माचो हुने गर्दछ । अहिले किसानहरुले धान काट्न सुरु गरेका छन् । योसँगै तिहारको अघिपछिको समय किसानहरुका लागि धान काट्न र सिहार्न भ्याइ नभ्याई हुन्छ ।
जर्नेली, अनदी, एक्ले, झिनुवा, कालो निमक स्थानीय जातका धान हुन् । यी धानहरुको चामल नरम र खान मिठो मानिन्छ । यतिसम्म कि यी धानको चामललाई खाजा खाने चामल पनि भनिन्छ । थोरै घिउ राख्दा पनि लपक्कै लागेजस्तो हुनुकासाथै नरम अनि मिठो हुन्छ । योसँगै गोला, बाटिसरा, सावित्री, मन्सुली ( मोटो—मसिनो ), चैते वा हिउँदे धान पनि हाम्रा रैथाने जात हुन् । चैते वा हिउँदे धानलाई काठमाडौतिर टाइचन भन्ने गरिन्छ ।  चैतमा वा हिउँदमा लगाइने भएकाले स्याङ्जालगाएतका पहाडी क्षेत्रमा चैते वा हिउँदे धान भनिन्छ । हिउँदको समयमा पनि पानी हुने ढाव खेत वा सिमसार क्षेत्रमा यो धान हुने गर्दछ । यो धानको चामलबाट चिउरा बनाउनको लागि राम्रो मानिन्छ ।
केही वर्ष अगाडि उत्पादन धेरै हुने भनी हाइब्रिड जातको धान लगाउन थालिएको थियो । छिटो पाक्ने र उत्पादन पनि बढि हुने भनी किसानहरु हाइब्रिड धानको बीउ ल्याएर लगाउन थालेका थिए । हाइब्रिड धानको बीउ स्थानीय धानको झैं बीउ राखेर नहुने र सँधै किनेर छर्नुपर्ने हुन्छ ।
यो धानमा रोग किरासँग लड्ने क्षमता कम हुने र बीउ राख्न पनि नसकिने जस्ता समस्या भएकाले स्थानीय धानलाई नै प्राथमिकता दिइएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल बताउनुहुन्छ । 
कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख हमालका अनुसार अहिले हाइब्रिड धान हट्दै गएको अवस्था छ । स्याङ्जाको हकमा भन्नुपर्दा हाईब्रिड धान २ प्रतिशत भन्दा पनि कम लगाइन्छ । पछिल्लो समय जति पनि धानहरु लगाइन्छ, सबैजसो नै कृषि अनुसन्धान केन्द्रद्वारा सिफारिस गरिएका स्थानीय जातका धान लगाउँदै आइएको छ । सावित्री, रामधान, सुनौलो सुगन्धलगाएत बिभिन्न नाम दिइए पनि ती सबै स्थानीय जातकै धान हुन् । पहिलाको तुलनामा पराल केही होंचो भएपनि उत्पादन राम्रो हुने गर्दछ ।
योवर्ष वर्षाद राम्रो भएकाले स्याङ्जामा ९८ प्रतिशत रोपाईं भएको थियो । केही दिन अगाडि पानी परेकाले थोरै समस्या सिर्जना भएको छ, यसले गुणस्तरमा कमि आउनसक्ने देखिन्छ तर उत्पादनमा भने त्यति फरक पर्दैन । गतवर्ष भन्दा रोपाईं प्रतिशत धेरै भएको र किसानहरुले पनि समयमै रोपाईं गर्न पाएकाले उत्पादनमा वृद्धि हुने कृषि ज्ञानकेन्द्रको अनुमान छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर