pokhara news

गीता ज्ञान प्रवचन तथा पुस्तक वितरण

पुस—६, वालिङ ।
स्याङ्जाको वालिङमा गीता ज्ञान प्रवचन तथा पुस्तक वितरण गरिएको छ । गीता ज्ञान प्रवचन तथा पुस्तक वितरण कार्यक्रम विश्वहिन्दु महासंघ एवम् विश्वहिन्दु युवासंघ स्याङ्जा शाखा र केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्र वालिङले आयोजनामा गरेको हो । आज विश्व योग दिवसको अवसर पारेर वालिङस्थित पतञ्जली योगपिठमा गीता ज्ञान सम्बन्धी प्रवचनसहित पुस्तक वितरण गरिएको हो । 
गीता तात्विक वक्ता पण्डित नेत्रप्रसाद पराजुलीले प्रवचन दिनुभएको थियो ।
कार्यक्रममा पण्डित पराजुलीले गीताभित्र महान दर्शन छ र गीता मानव कल्याणका लागि अमृत भएको बताउनुभयो । सबै मनुष्यहरु र लोकको कल्याण गर्नसक्ने एवम् पञ्च प्रकृतिको कल्याणका लागि अक्षर ब्रह्म, जसले हामीलाई तारण गर्नसक्छ त्यसलाई गीता भनिने पराजुलीले ब्यक्त गर्नुभयो । 
अपरम्पार शक्ति भएको र आफू अदुष्य रहेर दृष्यवान जगतलाई जसले सञ्चालन गर्दछ,, त्यसैलाई चिन्ने प्रयत्न नै गीताबाट हुने उहाँले उल्लेख गर्नुभयो । ऋषि महर्षी र देवर्षीहरुले महान ग्रन्थकोरुपमा मान्यता दिएको पण्डित पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वैदिक सनातनीहरुले गीतालाई अत्यन्त ठूलो महान ग्रन्थकोरुपमा लिने गर्छौं । हामीले कति लिएका छौं त्यो आफ्नो ठाउँमा छ तर ती वैदिकी ऋषिमुनीहरु, कल्पवासीहरु, ब्रह्मज्ञानीहरु, देवर्षी एवम् ब्रह्मर्षीहरु जसले गीतालाई महान ग्रन्थकोरुपमा मान्दछन् ।” अब त्यो गीताजी किन महान ग्रन्थकोरुपमा स्थापित भयो त ? कहिले बाट प्रारम्भ भयो र कसरी ऋषि महर्षिदेखि यो संसारमा विश्वास गर्नयोग्य कसरी भयो र यसभित्र के छ भन्ने कुरा जबसम्म हामीले केहि अंश बुझ्न सक्दैनौ, त्यो बेलासम्म केवल हामी कथामा रहिरहन्छौं । कथाले एकछिनलाई रमाइलो र आनन्द दिनसक्छ तर गीता ज्ञानलाई हामीले मानव कल्याणको महान ग्रन्थकोरुपमा बुझेर ग्रहण गर्नुपर्नेमा पण्डित पराजुलीले .जोड दिनुभयो ।
सबैले गाउन सक्ने, सबैले गाउन मिल्ने, सबैले अध्ययन गर्न र बुझ्न मिल्ने र त्यसका आधारमा जसले यो संसाररुपी भवसागरबाट तारण गर्नसक्छ, त्यो नै गीता हो । योसँगै माता पिता र गुरुको सम्मान गर्ने ज्ञानसहित ज्ञानको पनि ज्ञान महाज्ञान गीता भएकाले सबैले अध्ययन गर्नुपर्ने पण्डित पराजुलीले बताउनुभयो । 
कार्यक्रममा करिव २ सय पुस्तक वितरण गरिएको आयोजकले जनाएको छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर