pokhara news

जेनजीको एजेण्डा र एमालेको एजेण्डा एउटै थियो ः सचिव अर्याल

वालिङ २९, कात्तिक
नेकपा एमालेका सचिव पद्मा अर्यालले जेनजिले अगाडि सारेको एजेण्डा र नेकपा एमालेको एजेण्डा एउटै भएको बताउनुभएको छ । देशलाई भ्रष्ट्राचारमुक्त बनाई सुशासन कायम गर्ने नेकपा एमालेको पनि एजेण्डा भएको र जेनजिका सकारात्मक र राष्ट्रहितको पक्षमा रहेका मागप्रति नेकपा एमालेको समर्थन रहेको सचिव अर्यालले बताउनुभएको हो ।
नेकपा एमाले जिल्ला कमिटिले स्याङ्जामा शुक्रबार गरेको जनसभालाई सम्बोधन गर्दै जेनजिले देशमा विध्वंस मच्चाउने, देश जलाउने, समाजलाई त्रासपूर्ण बनाउने काम नगरेको उल्लेख गर्दै जेनजिको नाममा प्रतिगामी शक्तिहरुले षडयन्त्र गरेको सचिव अर्यालको भनाई छ । प्रतिगामीलाई हटाउनका लागि नेकपा एमाले अहिले सडकमा आएको भन्दै जनताको साथ र सर्मथनमा मुलुकलाई लोकतन्त्रतर्फ गणतन्त्रतर्फ फर्काउने विश्वास व्यक्त गर्नुभयो ।
वर्तमान सरकार असंवैधानिक रहेको भन्दै संविधानको मर्म र भावना विपरित बनेको सरकारका विरुद्धमा नेकपा एमाले जनताको बीचमा आएका हौं । बंगलादेश र डेनमार्गको उदाहरण दिँदै सचिव अर्यालले जननिर्वाचित सरकार अपदस्त गरी असंवैधानिक सरकारले चुनाव गराउँछु भन्ने हास्यास्पद भएको व्यक्त गर्नुुभयो । सार्वभौम सत्ता संसद जीवित रहँदा रहँदै पनि गलत तरिकाबाट देशलाई असफल बनाउने उद्देश्यका साथ सरकार बनाईएको उहाँले औंल्याउनुभयो ।  
यस्तै कार्यक्रममा नेकपा एमालेका बोलिटव्युरो सदस्य महेश बस्नेतले भ्रष्ट्राचारीलाई कारबाही गर्ने जेनजीको मागमा नेकपा एमाले तयार रहेको बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक तवरबाट निर्माण गरिएको सरकारमा रहेका मन्त्रीहरुको पनि छानविन आवश्यक रहेको नेता बस्नेतको भनाई छ ।
नेकपा एमालेले मुलुकको वर्तमान परिप्रेक्षको बारेमा आम नागरिकलाई जानकारी दिने उद्देश्यले सडकमा आएको उहाँले बताउनुभयो । वास्तविक जेनजिहरुलाई विदेशी शक्ति एवम् लुसिफरहरुले प्रयोग गरिएको भन्दै अब जेनजि वास्तविक जेनजि नरहेको नेता बस्नेतको दावी छ । विदेशीले नामाकरण गरिदिएको जेनजिलाई डिजिटल जेनेरेशन डिजि एवम् नवयुवालाई एमालेमा हरेक पलमा स्वागत रहेको उहाँले उल्लेख गर्नुभयो । देशको न्यायपालिका, सर्वोच्च, संसद, सिंहदरबार, प्रहरी कार्यालयलगायत देशका संरचना जलाउने अर्गानिक जेनजि नरहेको र जेनजिलाई आवरण बनाएर विदेशी प्रतिगामीहरुले सार्वभौमसत्ता नेपाललाई ध्वस्त बनाउने प्रयास गरिएकाले यो नेकपा एमालेलाई स्वीकार्य नहुँने नेता बस्नेतको भनाई छ । सामाजिक न्यायमा पछाडि परेका भ्रष्ट्राचारको विरुद्धमा काम गर्ने, देशमा संकट परेका बेला उभिने युथ भोलेन्टिएर फोर्स बनाईने छ । यो फोर्स केन्द्रदेखि जिल्ला तथा स्थानीय तहसम्म निर्माण गरिने छ । जनताको हित, राष्ट्रियता, विकास निर्माणको पक्षमा नेकपा एमाले सँधै अग्रस्थानमा रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद जबजको पक्षमा पार्टी अडिग रहेको बस्नेतको भनाई थियो । 
जनसभा गर्नुअघि वर्तमान सरकार असंवैधानिक रहेको भन्दै सरकारका विरुद्ध नाराबाजी गरिएको थियो भने भदौ २४ गते भएको आन्दोलनको अपराधीलाई कारबाही गर, मुलुकमा शान्ति सुरक्षा कायम गर, लगायतका प्लेकार्ड सहित पुतलीबजारमा ¥याली गरिएको थियो । ¥यालीमा नेता कार्यकर्ता एवम् युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर