pokhara news

दुध र मासुमा आत्मनिर्भरताका लागि वालिङ नगरपालिकाको प्रभावकारी भूमिका

साउन—३०, स्याङ्जा ।
वालिङ नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ दुध र मासुमा आत्मनिर्भरताका लागि प्रभावकारी भूमिकामा अग्रसर देखिएको छ । अनुदानलगायतका विभिन्न कार्यक्रमले दुध र मासुमा आत्मनिर्भरताका लागि आर्थिक वर्ष २०८०÷०८१ मा प्रभावकारी भूमिका रहेको नगरपालिकाको पशुसेवा कार्यालयको तथ्याङ्कले देखाएको हो । नगरपालिकाले निःशर्त र शसर्त गरी दुई तरिकाबाट किसान प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको थियो । 
नगरपालिकाको पशु सेवा शाखा कार्यालय मार्फत सञ्चालित बीमा तथा अनुदानलगायतका कार्यक्रमले किसानहरुलाई थप उर्जाशील बनाएको शाखाका प्रमुख डा. रोशन बस्याल बताउनुहुन्छ । नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउनका लागि भनेर गाई खरिद एवम् पशु बीमाका कार्यक्रम सञ्चालन गरेको हो । यसकासाथै किसानहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा तालिममा सहभागी गराइएको थियो । नगरपालिकाले गाई खरिदमा रु.५० हजारका दरले किसानहरुलाई अनुदान प्रदान गरेको छ । यस अन्तर्गत विभिन्न किसानहरुलाई गरी ३९ वटा गाई खरिदका लागि गत आवमा अनुदान प्रदान गरिएको नगरपालिकाको पशु सेवा कार्यालयले जानकारी दिएको छ । शाखाका प्रमुख डा.बस्यालका अनुसार पशुहरुको बीमासमेत गराईको छ भने गाई भैंसीपालन सम्बन्धी तालिम दिइएको छ । यसैगरी व्यवसायिक किसानहरुलाई बीउ पूँजी वितरण गरेर व्यवसाय प्रवद्र्धनलाई टेवा पु¥याउने काम भएको छ । यस अन्तर्गत १८ जना व्यवसायीक किसानका लागि ३१ लाख बराबरको बीउ पूजी वितरण गरिएको छ । यी कार्यक्रमहरुबाट आँफूहरुलाई थप उत्साही बनाएको र यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालनमा ल्याउनुपर्ने किसानहरुको भनाई रहेको डा. बस्यालले बताउनुभयो । यसबाट राम्रो प्रभाव परेको छ, धेरै किसानहरु खुसी हुनुहुन्छ । योसँगै किसानहरुमा उत्साह मिलेको र उत्पादनमा पनि वृद्धि हुनेमा आँफूहरु विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।
पशुपालनका लागि पहिलो आधार घाँस हो, त्यसैले पशु आहारमा कमि नहोस भनेर उन्नत जातका विभिन्न किसिमका घाँसका बीरुवा तथा बीउ उपलव्ध गराइएको छ । उन्नत जातका घाँसहरुमा मोलाटो, ग्वाटेमाले, स्मार्ट नेपियर, अम्लिसो र रेड नेपिएरका बिरुवा सबैभन्दा धेरै वितरण गरिएको हो । १४ हजार २ सय ८३ वटाका दरले यी सबै जातको घाँसका बिरुवा वितरण गरिएको डा. बस्यालले जानकारी गराउनुभयो । यसैगरी सुपर नेपिएरका ९ हजार ४ सय २८ बिरुवा वितरण गरिएको छ भने राइ खनियोको ४ हजार र भटमासेका २ हजार २ सय ८३ बिरुवा वितरण गरिएको हो । स्टाइलोको २५ किलो बीउ वितरण गरिएको छ भने मसलाबालीमा शितलचिनीको ४ सय ३० बिरुवा प्रदान गरिएको छ ।
यसैगरी स्वस्थ मासु उपलव्धताका लागि अनुगमनसहित व्यावसायीहरुलाई तालिममा सहभागी गराइएको छ । यसका लागि मासु पसलहरुको अनुगमन गरी स्वच्छ र स्वस्थ्य मासु उत्पादन तथा प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको हो । योसँगै बङ्गुरका पाठापाठी वितरणसहित औषधी तथा खोप कार्य सञ्चालन भएको थियो । बङ्गुर बिकास कार्यक्रम अन्तर्गत नगरका विभिन्न वडामा गरी १ सय वटा पाठा पाठी वितरण गरिएका हुन् । पशुको स्वास्थ्य अवस्था राम्रो हुन आवश्यक हुन्छ । त्यसैले पशुहरुको सुधारका लागि एक वडा एक स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण एवम् लम्पीस्किन विरुद्धको खोपकार्य सञ्चालन गरिएको थियो ।
यसका साथै किसानहरुको माग र आवश्यकता आधारमा हेफर संस्थासँगको सहकार्यमा बङ्गुर थप पाठापाठी वितरण गरिएको छ । यस अन्तर्गत वडा नम्वर ५ र ६ मा गरी बङ्गुर का २ वटा (बीउ) वीरसहित ४३ वटा पाठापाठी वितरण गरिएका हुन् । 
यस्तैगरी बाख्रा व्यवस्थापनका कार्यक्रमले पनि प्राथमिकतामा पारिएको थियो । यस अन्तर्गत वडा नम्वर ३ मा ४ बीउ बोकासहित ४१ बाख्रा र वडा नम्वर ४ मा ६ वटा बीउ बोकासहित ५९ बाख्रा वितरण भएका हुन् । यी सबै निशर्त अनुदानका कार्यक्रम अन्तर्गत प्रदान गरिएका हुन् । 
यसैगरी सशर्त अन्तर्गत अनुदानलगायतका कार्यक्रममा पनि किसानहरुलाई सहभागी गराइएको छ । सशर्त अनुदानका कार्यक्रममा अकला नमुना साना किसान सहकारी अन्तर्गत दुध सङ्कंलन गर्ने ४० जना किसानहरुलाई प्रति लिटर दुधमा १० रुपैयाका दरले अनुदान उपलव्ध गराएको हो । यस अन्तर्गत अनुदान स्वरुप रु ७ लाख १६ हजार ९ सय २ रुपैया प्रदान गरिएको हो । 
यस्तै गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बाख्रा वितरणसहित तालिम एवम् निःशुल्क औषधी प्रदान गरिएको छ । थप सुधार गर्नका लागि कृत्रिम गर्भाधानको कार्यक्रम र महामारी रोग नियन्त्रणका लागि उपकरण खरिद गरिएको पशु सेवा शाखाले जनाएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर