pokhara news

नगरस्तरीय तीजगीत प्रतियोगितामा पूर्णामृत भवानीले प्रथम स्थान हाँसिल ग¥यो

भदौ ९, वालिङ ।
स्याङ्जाको वालिङमा आयोजित १६ औं तीजमेला तथा नगरस्तरीय तीजगीत प्रतियोगितामा पूर्णामृत भवानी माविले प्रथम स्थान हाँसिल गरेको छ । महिलाहरुको महान पर्व हरितालिका (तीज) का अवसरमा वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले आइतबार आयोजना गरेको प्रतियोगितामा वालिङ १० फूलबारीस्थित पूर्णामृत भवानी माविले प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगिताका लागि सहभागी १६ समूहमा १५ समूहलाई पछि पार्दै आफ्नो उत्कृष्ट प्रस्तुतिसँगै प्रथम हुन सफल पूर्णामृत भवानी माविले नगद रु.२० हजारको साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी वालिङ ११, छतिउनको सिर्जनशील आमा समूह दोस्रो भएको छ भने वालिङ १ रामबाच्छाको बुद्धटोल आमा समूह तेस्रो र १ नम्वर वडाकै देउराली आमा समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुने समूहले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
१६ औं तीजमेला तथा नगरस्तरीय तीजगीत प्रतियोगिताको समुद्घाटन नेपाल सरकारका पूर्वमन्त्री पद्माकुमारी अर्यालले गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन गर्दै पूर्वमन्त्री अर्यालले हामी उत्पादन जोडिदै महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले आयोजक समितिले मनोरञ्जनसँगै महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्देश्यले निश्चित विषयमा गीति प्रस्तुति राख्ने कार्यक्रमको सराहना गर्नुभयो । पूर्वमन्त्री अर्यालले भन्नुभयो, “महिलाहरुले समाजमा योगदान गर्नुपर्छ र विकासमा सहभागी बन्नुपर्छ भनेर दिदी बहिनीहरुका गीतले सन्देश प्रवाह गरेको छ । योसँगै आयोजक समितिले पनि आफ्नो पूरा गरेको छ भन्ने लाग्छ । कलात्मक ढङ्गले आ—आफ्ना प्रस्तुतिहरु मार्फत महिलाहरु उत्पादनमा जोडिनुपर्ने सन्देश प्रवाह गरिनु सराहनीय छ ।”
गीत सङ्गीतलाई मनोरञ्जनसँगै यसैगरी महिला शसक्तिकरण र समाज रुपान्तरणमा लाग्नु आजको आवश्यकता रहेको पूर्वमन्त्री अर्यालको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास  समितिका सभापति भोजराज अर्याल, गण्डकी प्रदेश विधायन समितिका पूर्व सभापति मोहन रेग्मी, गण्डकी प्रदेश सांसद एवम् पूर्वमन्त्री सीता सुन्दास एवम् विभिन्न पार्टी प्रतिनिधीलगायतले महिलाहरुको महान चाड हरितालिका (तीज) पर्वको महत्वको चर्चा एवम् चाडपर्वलाई सुसंस्कृत र मर्यादित बनाउदै लैजानुपर्नेमा जोडदिंदै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका अवसरमा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु मिनलाल कर्माचार्य, श्यामप्रसाद श्रेष्ठ, अमरलाल श्रेष्ठ, ले. यामबहादुर गुरुङ, कर्णबहादुर श्रेष्ठ, पून्य अर्याल र शोभाकान्त पौडेल तथा वर्तमान अध्यक्ष चेतनारायण श्रेष्ठलाई आयोजकले सम्मान गरेको थियो । यसैगरी महिला उद्यमी समितिका पूर्व अध्यक्षहरु प्रेमकुमारी रेग्मी, युगमायाँ पङ्गेनी र कविता भूसाललाईसमेत आयोजकले सम्मान गरिएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर