पाखोबारीमा लाखौं कमाइको अवसर चिनेका पौरखी शिव, ड्रागनबाट मात्र २० लाख आन्दानी हुने अनुमान
साउन २, वालिङ ।
पछिल्लो समय युवाहरुले आय आर्जनसहितका अवसरको गन्तव्य विदेशलाई बनाउने सोंचले निकै महत्व पाएको छ । त्यही अवसरको खोजिमा गाउँ छाड्ने क्रममा विदेशको चर्को घाम र कडा परिश्रम गरी दुःख पाएका युवाहरु धेरै छन् । आफ्नै वरिपरी भएका अवसर चिन्न नसक्दा यसरी दुःख पाउनुपरेको धेरैलाई महसुस हुन सकिरहेको छैन । यसैबीच जाँगर, सीप र दृष्टिकोण हुने हो भने आफ्नै गाउँ ठाउँमा अवसर छ भन्ने गतिलो उदाहरण हुन्—शिव थापा क्षत्री । घर छेउमा रहेको पाखोबारीको उपयोग गरेर लाखौं कमाईको अवसर चिनेका पौरखी शिवलाई फलफूल एवम् तरकारी बिक्रि गर्न भ्याइ नभ्याई छ ।
१० वर्ष कोरियामा परिश्रम गरेर फर्केका शिव पहिला पनि तरकारी खेति गरेको अनुभव भएका उनी फर्केपछि कृषि कर्ममै लाग्ने योजना थियो । कोरियामा रहँदा विदाका दिनहरु र खाली समयलाई कृषिमा कसरी उत्पादन वृद्धि गरेर व्यवसायी बन्न सकिन्छ भन्ने ध्याउन्नमै समय बिताउने गरेको शिव बताउँछन् । पहिलाको काम गराई र कोरिया बसाईको अनुभव तथा अध्ययनबाट फलफूल तथा तरकारीलगायतका कृषि कर्मका लागि उनलाई कुनै अफ्ठ्यारो छैन ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ४, थुम्कास्थित थापाको कृषि फर्ममा “बगान एक उत्पादन अनेक” देख्न सकिन्छ । योसँगै थापाको बगानले थोरै जमिनमा धेरै आम्दानी लिन सकिने सावित गरेको छ । थापाको पाखो बारीमा रहेको “शिव कृषि तथा पशुपंछी पालन फर्म ड्रागन फ्रुट बगैंचा” जम्मा ५ रोपनी क्षेत्रफलमा रहेको छ । धेरै कमाई गर्न बढि लगानी र ठूलो क्षेत्र चाहिन्छ भन्ने हाम्रो सोंच छ । तर ठूलो क्षेत्र र धेरै लगानी चाहिन्छ भन्ने सोंच भएकाहरुका लागि थोरै जग्गामा पनि वार्षिक लाखौं आम्दानी गर्न सकिदो रहेछ भन्ने थापाको बगैंचा हेरेपछि विश्वास दिलाउँछ ।
विदेशको कमाईले शहर बजारमा घरघडेरी र मधेशमा जग्गा जोडेपनि शिव भने गाउँमै कृषि कर्ममा व्यस्त छन् । एक छोरा र एक छोरी स्नातक पढ्दैछन् । श्रीमती रेवतीकोसाथमा ४७ वर्षीय शिवको दैनिकी सुन्दर बगैँचा र माटोसँग रमाइरहेको छ ।
अहिले थापाको बगैंचामा १ हजार बोट ड्रागन फ्रुटले फल दिइरहेका छन् । गतवर्ष ३ लाखको बिक्रि गरेका थापा अहिले मौसमले साथ दिएको खण्डमा २० लाख पर्ने अनुमान छ । बिग्रिएमा बीमा वा फिर्ता हुने सुविधा भएपछि व्यापारीहरुका लागि पनि जोखिम छैन । त्यही एउटै बगानमा शिवले अकबरे खुर्सानीका ५ सय बिरुवा लगाएका छन् । खुर्सानी २ क्वीण्टल बिक्रि भैसकेको छ भने अरु २ क्वीण्टल उत्पादन हुने उनको अनुमान छ । अकबरे खुर्सानी थोक भाउ प्रति किलो २ सयमा बिक्रि गर्दा पनि राम्रै आम्दानी भएको छ । यसैगरी तारबार र भित्तामा लौका, करेला, काँक्रा र फर्सीलगायतको उत्पादन पनि लोभै लाग्दो छ । बाह्रै महिना साग उत्पादन गर्नु शिवको विशेषता नै छ ।
सुरुका दिनमा बिरुवा बाहिरबाट ल्याए पनि अहिले बिरुवा उत्पादन एवम् नर्सरीसमेत आफै गर्छन् । तरकारीका बिरुवा उत्पादन देखि ड्रागनको नर्सरीका लागिसमेत शिव सक्षम छन् ।
त्यसो त चिसो हावापानीमा राम्रोसँग फल्दैन भन्ने खरबुजा लगाएर चुनौति दिएका छन् । खरबुजा पनि अहिलेसम्म २ क्वीण्टल बिक्रि गरिसकेका छन् भने अरु २ क्वीण्टल उत्पादन हुने अनुमान छ । यस्तैगरी आरु प्रजातिको हाडे बदामका १ सय २५ बिरुवा फल दिने तयारीमा छन् । २ वर्षका बिरुवा यो वर्षदेखि नै फल्न थालेका छन् भने आगामी वर्षदेखि बजारमा पठाउन सकिनेगरी फल दिने शिव बताउँछन् । एक बोटले कम्तिमा पनि १० किलो उत्पादन दिन्छ भने प्रति किलो १ हजारमा बिक्रि हुने शिवको भनाई छ ।



Leave A Comment