pokhara news

बाख्रापालन जीविकोपार्जनको सारथी बन्दै

जेठ २३, वालिङ ।
ग्रामिण क्षेत्रका किसानहरुका लागि बाख्रापालन व्यवसाय जीविकोपार्जनको सारथी बनिरहेको छ । घाँसको स्रोत र पहारिलो क्षेत्र बाख्राका लागि उपयुक्त मानिन्छ । जसको सदुपयोग गरेर बाख्रापालन गर्ने किसानहरुका लागि राम्रो आम्दानीको स्रोतसहित जीविकोपार्जनको सारथी बन्दछ भन्ने किसानहरुले देखाएका छन् । स्याङ्जाका ग्रामिण भेगमा धेरै किसानहरुले बाख्रापालनलाई आय आर्जनको मुख्य आधार बनाएर लागेका छन् । यस्तै एक किसान हुनुहुन्छ—केशर खाँण ।
धेरै युवाहरु अवसरको खोजीमा विदेश गैरहेका बेला खाँणले बाख्रापालनलाई आम्दानीको आधार बनाएर गाउँमै रमाउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर ४, घुर्लेचौरका खाँणले विगत १० वर्षदेखि बाख्रापालन गर्दै आएउनुभएको हो । खाँणको आम्दानीको मुख्य स्रोत बाख्रापालन बनेको छ । 
स्थानीय खरी जातबाट सुरु गर्नुभएका खाँणसँग अहिले ९० प्रतिशतका बोयर बाख्रा छन् । ३५ वटा माउसहित पाठापाठी गरेर खाँणको फर्ममा ७० बाख्रा छन् । माउसँगै खाँणसँग प्रायजसो ७० देखि ८० को हाराहारीमा बाख्रा हुने गर्दछन् । आधुनिक एवम् सुविधायुक्त खोरको व्यवस्थापनमा पालिएका खाँणका बाख्रा सफा, हृष्टपुष्ट र रहरलाग्दा छन् । योसँगै बाख्रापालनबाट वार्षिक १० लाखसम्म आम्दानी हुने खाँण बताउनुहुन्छ । घर परिवार र गाउँ समाजमा रहेर व्यवसायिक कृषि कर्म गर्दा छुट्टै आनन्दको अनुभूति भएको खाँण बताउनुहुन्छ । जहाँ गएर काम गरेपनि पैसा कमाएर जीविकोपार्जन गर्ने नै हो । हामी अधिकांश नेपालीहरुसँग केही न केही जग्गा छन् । माटो र हावापानी सुहाउँदो कृषिकर्म गर्ने हो भने जीविकोपार्जनका लागि कतै भौंतारिनु पर्दैन भन्ने खाँणको बुझाई छ । 
बजारीकरणका लागि कुनै समस्या छैन्, उत्पादन हुनुपर्छ बिक्रि भैहाल्छ । यहाँका पाठापाठी विशेषगरी बीउका लागि प्रतिकिलो १ हजार २ सयमा बिक्रि हुने गर्दछन् । यहाँ उत्पादन भएका पाठापाठी स्याङ्जासँगै कास्की, पर्वत, पाल्पालगायतका जिल्लासम्म पुग्ने गर्दछन् । मानिसलाई जस्तै बाख्रालाई पनि स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ, परम्परागतरुपमा गरेर हुँदैन । रेखदेख पु¥याएर स्वस्थ खाँसपानी र विमार लागेको खण्डमा समयमा उपचार गर्नुपर्छ । अहिले पशु प्राविधिकहरुको उपलव्धता छ, आवश्यक परेको समयमा उपचार तथा समयमा सल्लाह लिन पाइन्छ । यसको साथै युट्युवबाट पनि पशु विज्ञहरुबाट जानकारी लिन सकिन्छ । यसरी चासो र ध्यानपूर्वक गर्ने हो भने बाख्रापालनबाट राम्रो फाइदा लिन सकिने खाँणको भनाई छ । स्थानीय सरकार एवम् सम्बन्धित निकायबाट अनुदान प्राप्त हुनु राम्रो कुरा हो, तर हामीले सरकारबाट के पायौं भन्दा पनि के दियौं भनेर पहिला सोंच्नुपर्ने खाँणको धारणा छ ।
यसकासाथै विगत ३ वर्षदेखि खाँणले केही घार मौरी पनि थप्नुभएको छ । घुर्लेचौर क्षेत्रमा प्रयाप्त वन जङ्गल भएकाले मौरीका लागि आहाराको समस्या छैन । अहिले खाँणसँग मौरीका १० घार छन् । यसबाट पनि आफन्तलाई चखाएर वार्षिक ४० किलोसम्म बिक्रि हुन्छ । 
यसरी हावापानी अनुसार आफ्नै ठाउँमा पशुपालनलगायत कृषि कर्म गर्ने हो भने आम्दानीसहित खुसीले बाँच्न सकिने खाँणबाट सिक्न सकिन्छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर