pokhara news

बिरुवामा निःशुल्क स्वास्थ्य शिविर,२ सय ४० जनाको स्वास्थ्य परीक्षण

जेठ १०, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले ८ नम्बर वडाको भुरुङचौकीस्थित भीरकोट स्वास्थ्य चौकीमा विशेषज्ञसहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 
स्वास्थ्य शिविरको शुभारम्भ गर्दै नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. राजन शर्माले रोगको पहिचान गर्ने मुख्य उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । एकदिने शिविरबाट रोगको निदान भन्दा पनि रोगको पहिचान गर्नु मुख्य उद्देश्य रहेको डा. शर्माले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रोगको पहिचान गरेपछि उपचारको उपाय अपनाउन सकिन्छ । यहाँ सबै सुविधा नहुनसक्छ तर रोग अनुसारको उपचारका लागि पोखरा काठमाडौं कहाँ गएर हुन्छ त्यो सल्लाह दिन र समयमा उपचार गरेर निको हुन मदत पुग्छ । हामीसँग उपलव्ध औषधी प्राप्त गर्नसक्नुहुन्छ तर पर्याप्त नहुनसक्छ । किनभने हामीसँग सबैखाले औषधी नहुनपनि सक्छ । नसोचेको रोग पनि पत्ता लाग्नसक्छ । रोग पत्तालाग्नु र समयमा सम्बन्धित  चिकित्सकसँग परीक्षण गराउन सल्लाह दिनु पनि उपलव्धी ठान्दछौं र त्यसैगरी बुझिदिन आग्रह छ ।” डा. शर्माले शिविरमा उपलव्ध चिकित्सकहरुबाट धेरै भन्दा धेरैले स्वास्थ्य परीक्षण गराएर मौकाको फाइदा लिनुहुन अनुरोध गर्नुभयो । आफु जन्मेको गाउँमा शिविर राख्नका लागि अध्यक्षज्यूसँगको सल्लाहमा शिविर सञ्चालनमा ल्याइएको समेत उहाँ जानकारी गराउनुभयो ।
यस अवसरमा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले गाउँ ठाउँमा रहेका नागरिकहरुका लागि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैजना उपचारका लागि टाढा जान नसकिएको पनि हुनसक्छ र जटिल खालका रोग लागेका पनि हुनसक्छौं । रोगले ग्रस्त भैसकेपछि मात्र उपचारमा लाग्ने हाम्रो बानी छ । सानो भन्दा सानो रोगबाट सुरक्षित हुन सकियोस् र जटिलखालको रोग लागेको रहेछ भनेपनि समयमै उपचार गर्न पाइयोस् भनेर विशेषज्ञसहितको शिविर सञ्चालन गरिएको हो ।” अन्य वडाहरुमा पनि विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी शिविर सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा पनि यसैगरी विशेषज्ञसहितको शिविर सञ्चालन गर्दै जाने जानकारी गराउनुभयो । यसकासाथै सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारीमा लागिरहेको उहाँले उल्लेख गर्नुभयो । अस्पताल सञ्चालन गर्न खर्चिलो छ तर पनि कर्मचारी व्यवस्थापनदेखि लिएर आन्तरिक तयारी गरिरहेका छौं, अध्यक्ष कुँवरले भन्नुभयो । 
शिविरमा नशा तथा मानसिक रोग, स्त्री तथा प्रसुति, मृर्गौला, नाक कान घाँटी, दन्त रोग, पेट छाती तथा कलेजो, मुटुरोग र हाडजोर्नी सम्बन्धी विशेषज्ञ चिकित्सकद्वारा जाँच एवम् भिडियो एक्सरे तथा ल्याव परीक्षण गरिएको थियो ।
शिविरमा नशा तथा मानसिक रोग विशेषज्ञ डा. राजन शर्मा र राजेन्द्र घिमिरेको साथमा सम्बन्धित रोगका विशेषज्ञहरुबाट सेवा प्रदान गरिएको थियो । आज सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा महिला र पुरुष गरी २ सय ४० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 
नेपाल चिकित्सक संघ गण्डकीको प्राविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर