pokhara news

रामपुरको सीताकुण्डमा रामसीता विवाह उत्सव मनाइने

 रामपुर, ८ मङ्सिर।  

पाल्पाको रामपुरमा विवाह पञ्चमीको अवसरमा रामसीता विवाह उत्सव मनाइने भएको छ । रामपुर नगरपालिका–३ सीताकुण्डमा यही मङसिर ९ गते विवाह पञ्चमीका दिन रामसीता विवाह उत्सव मनाइने भएको हो । विवाह पञ्चमीका अवसरमा सार्वजनिक विदा दिने नगरपालिकाले जनाएको छ । धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न रामसीता विवाह उत्सव मनाइने नगरपालिकाले जनाएको छ ।  
पत्रकार सम्मेलन गरी नगरपालिकाले कार्यक्रमको तयारीको विषयमा जानकारी दिएको हो । वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा स्नान गरेको पवित्र भूमि वडा नं. ५ स्थिति कालीगण्डकी किनारको रामघाट बाट जन्ती निकाल्ने, रामपुर क्षेत्रमा घुम्ने क्रममा भगवान सीता रजस्वाला भएको समयमा भगवान रामले  वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको वडा नं. ३ स्थित सीताकुण्डमा जन्तीलाई स्वागत गरी विवाह उत्सव मनाउने तयारी गरिएको हो । रामपुर नगर भित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगाएतका धार्मिक स्थलहरु रहेका छन् । 
नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले विवाह उत्सवको बारेमा जानकारी दिदै नगर भित्र रहेका भगवान राम र सीता संँग सम्बन्धित ऐतिहासिक एवम् धार्मिक स्थलहरुको महत्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह पञ्चमी भव्यताका मनाउन लागिएको जानकारी दिनुभयो । नगर भित्रका महत्वपूर्ण धार्मिक स्थलको संरक्षण सँंगै महिमाको प्रचार प्रसार गरी धार्मिक पर्यटन संँग जोड्ने मुख्य ध्येय रहेको उहाँको भनाई छ । विवाह उत्सवमा जन्ती संँगै सीताकुण्डसम्म पुग्ने धर्मावलम्बीहरुको सहजताको लागि सडक स्तरोन्नति तथा सीताकुण्डमा गाडी पार्किङका लागि व्यवस्थापन गरिएको थापाले जानकारी दिनुभयो । भगवान रामले विचरण गरेको पुण्य भूमि भएकाले सोही आधारमा रामपुर नामाकरण भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले सीताकुण्ड परिसरको सरसफाईलाई ध्यानमा राख्दै प्लाष्टिक जन्य सामाग्री निषेध गरिएको बताउनुभयो । उत्सवमा सहभागी हुन रामपुर नगर संँगै कालीगण्डकी वेशीका सरोकारवाला सबैलाई आग्रह समेत  गरिएको छ ।
धार्मिक व्यक्तित्व सन्दिप रानाले सीताकुण्डको बारेमा जानकारी दिनुहुँदै स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदुतमा समेत सीताकुण्डको बारेमा उल्लेख भएको बताउनुभयो । साथै कुण्डमा पाईने फरक प्रकृतिको जङ्गली धानको विशेषताको बारेमा पनि जानकारी दिनु भएको थियो । माइती पक्षको तर्फबाट जन्तीको स्वागत, मन्दिरको सरसफाई, खाना तथा प्रसादी व्यवस्थापनका लागि वडा नं. ३ र ४ का स्थानीय, टोल विकास समितिहरु जुटिरहेका उहाँले  बताउनुभयो । उहाँका अनुसार १२ स्थानमा स्वागतद्वार निर्माण गरिने छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर