pokhara news

रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन, योगी विकाशानन्दज्यूबाट प्रवचन

वालिङ,२५ मङ्सिर ।
पाल्पाको रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि रामघाट धाममा “जेष्ठ नागरिक स्कुल” सञ्चालनमा ल्याएको हो ।
पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यका साथ रामपुर–५ रामघाट धाममा स्कुल स्थापना गरी सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरी नगरपालिकाले बुधबारदेखि स्कुल सञ्चालन गरेको हो । 
जेष्ठ नागरिक स्कुल शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता र नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । नगर प्रमुख थापाले जेष्ठ नागरिकहरुको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण  गर्नुका साथै उहाँहरुलाई सम्मान सहितको सक्रीय जीवन जिउने वातावरण निर्माण गर्न जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको बताउनुभयो । रोजगारीको शिलशिलामा सन्तानहरु परदेशमा हुँदा जेष्ठ नागरिकहरुको दैनिकीमा परेको समस्यालाई मध्यनजर गर्दै उहाँहरुमा खुशी ल्याउन जेष्ठ नागरिक स्कुलको अवधारणा अघि बढाइएको नगरप्रमुख थापाको भनाई छ । उहाँले भन्नुभयो, “सन्तानहरु रोजगारी तथा विभिन्न शिलशिलामा घर भन्दा बाहिर हुँदै गर्दा जेष्ठ नागरिकहरु निरस जीवन जिउनु पर्ने बाध्यता छ । आफ्ना दौंतरीसंँग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कुल स्थापना गरेका हौं ।” पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ । उहाँले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । जेष्ठ नागरिकहरुलाई धार्मिक प्रवचन संँगै फुर्सदको समयमा बत्ती कात्ने, दुना टपरी बनाउने लगाएतका वातावरण निर्माण संँगै बजारीकरणका लागि प्रबन्ध मिलाईएको छ । 
यसैगरी उपप्रमुख बालकुमारी थापाले ‘पुस्तान्तरण सीप, हस्तान्तरण केन्द्र’ भन्ने अवधारणका साथ स्कुलको  सुरुवात गरिएको बताउनुभयो । जेष्ठ नागरिक स्कुलमा नगर भित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्था समेत मिलाईएको छ । उहाँले स्कुलको दिगो सञ्चालन तथा व्यवस्थापनका आवश्यक साथ र सुझाव प्रदान गर्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटको  समेत व्यवस्था गरेको बताउनुभयो । जेष्ठ नागरिकलाई आउन र जानका लागि बस सेवासमेत सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 
यस अवसरमा दार्शनिक गुरु योगी विकाशानन्दज्यूले कार्यक्रममा उपस्थित जेष्ठ नागरिक, विद्यार्थीहरलाई प्रवचन समेत दिनु भएको थियो । साथै दार्शनिक गुरु योगी विकाशानन्द ज्यूको उपस्थितिमा आजदेखि रामघाटमा शारीरिक, मानसिक तथा आध्यात्म सम्बन्धी ३ दिवसीय आत्मा जागरण कार्यक्रम गरिने छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर