pokhara news

संस्कृति संरक्षण र सामाजिक उत्तरदायित्वमा जोडिदै देउसीभैलो

वालिङ,५ कात्तिक–नेपाली समाजमा विद्यमान चाडपर्वमध्ये तिहार दोस्रो ठूलो पर्व हो । नेपाली पात्रो अनुसार यम पञ्चक लागेपछि झिलिमिली बत्तीसहित मनाइने भएकाले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ ।
तिहारका पाँच दिन काग तिहार, कुकुर तिहार, गाई तिहार र गोवर्धन पूजा अर्थात् गोरु तिहार र भाई टीका अर्थात् भाई तिहार पर्दछन् । यी पाँचै दिनका आ–आफ्नै विशेषता छन् । यो पर्वलाई दाजुभाई तथा दिदीबहिनीबीच भेटघाट हुने एवम् सम्बन्ध प्रगाढ बनाउने शुभ अवसरकारुपमा पनि लिइन्छ ।
काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछि किशोरीहरुले भैलो खेल्ने परम्परादेखिकै प्रचलन हो । भोलिपल्ट गोरु–गोवर्धन पूजा गरेपछि देउसी खेल्ने र देउसी गीत गाएर रमाइलो गर्ने परम्परा हो । बुढापाकाहरु पुरानो भाकाले देउसी भट्याउने र युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरी आ–आफ्नै भाकाले देउसी खेल्ने गरिन्छ ।
हिमाल, पहाड र तराई भएको देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा किशोर किशोरीहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर  भैलो गीत गाउने र नाच्ने गरिन्छ । यति रमाइलो र आफ्नोपन रहेको परम्परालाई पछिल्लो समय कतिपय स्थानमा खाने पिउने, होहल्ला गर्ने र भड्किलो बनेको देखिन्छ । आफ्नो परम्परा र संस्कृतिलाई विकृत बनाइनु राम्रो होइन र विकृत बनाइनु हुँदैन । 
यसैबीच विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले देउसी भैलोलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने गरेको पाइन्छ । यसरी संस्कृति संरक्षणसँगै परम्परालाई निरन्तरता दिइनु सराहनीय कार्य हो । यसै सन्दर्भमा स्याङ्जाको वालिङ क्षेत्रमा संस्थागत देउसी भैलो खेलेर संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वसँग जोड्नेगरी सक्रिय भएका छन् । वालिङ नगरपालिका १ रामबाच्छाको आशिमाला तमु समाजले स्थानीय बजार र टोलमा देउसीभैलो खेलेर निकै रमाइलो प्रदान गरेको छ । समाजले रमाइलोकोसाथमा सामुदायिक भवन निर्माण सहयोगार्थ देउसीभैलो अभियान सञ्चालन गरेको हो । तिहारबाट सुरु हुने सोरठीगीतसँगै भैलो भट्याउदै गाउनु नाच्नुलाई यो समाजले साङ्केतिकरुपमा भएपनि मौलिकतालाई निरन्तरता दिने प्रयास गरेको देखिन्छ । यसलाई देउसीभैलोको मर्म र भावना अनुरुपको प्रस्तुतिकारुपमा लिनुपर्दछ । यसकासाथै सालैजो र ठाडोभाका एवम् झ्याउरे भाकामा प्रत्येक्ष नाचगान गर्नु हाम्रो मौलिकता हो, जुन यो समाजले अवलम्वन गरेको देखिन्छ । यस्ता प्रस्तुति र निश्चित उद्देश्यसहितका झलकहरु पुस्ता हस्तान्तरण हुनु आवश्यक छ । जसले गर्दा हाम्रा चाडपर्व र मौलिक कला, संस्कृति र परम्पराको निरन्तरतामा टेवा पुग्दछ । नयाँ पुस्तामा देउसी भैलोसहित संस्कृति संरक्षणमा चासो देखाएको पाइन्छ । यसैक्रममा तल्लो वालिङका किशोर किशोरीहरु वर्षेनी संस्कृति संरक्षणको नारासहित देउसीभैलो खेल्दै आएको छ । यो समूहले सोरठी, झोरा, घाँटुसहित देउसीभैलो खेलेर मौलिक संस्कृति संरक्षणमा प्रयास गरेको देखिन्छ ।
यसैगरी वालिङ १३ को झलुङ्गे बजारबासीले पनि सामाजिक सेवामा सहयोग पुगोस भनेर देउसीभैलो अभियान सञ्चालन गरेको छ । यस्तै क्षत्री समाज वालिङले पनि सामुदायिक भवन निर्माणार्थ देउसीभैलो कार्यक्रम गरेको छ । यसकासाथै स्थानीय बजार र टोलहरुमा देउसीभैलो खेल्नेहरु बाक्लोरुपमा देखिन्छन्, जसले तिहार पर्वलाई साँझको समयमा झिलिमिली उज्यालोसँगै सङ्गीतमय बनाएका छन् । समग्रमा वालिङ क्षेत्रको देउसी भैलोका कार्यक्रमहरु विगतको तुलनामा यो वर्ष सुधारोन्मुख देखिएको छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर