सपौंदेको सीर, के लेख्यो भावीले सधैं मलाई पीर.....
गोपाल जिटी
वालिङ, ७ मङ्सिर–यो गीत हो– लोक गायिका ज्ञानधरी गुरुङको । यो उनको पहिलो सिर्जना पनि हो । कुनै समयकि व्यस्त गायिका अहिले आफ्नै गाउँ सपौंदेमा खेति किसान गरेर बसेकि छन् । आफ्नो पहिलो सिर्जनाकै आधारमा अहिले उनका दिनहरु व्यतित भैरहेका छन् । केही नाच्ने खालका झ्याउरे गीतहरु गाए पनि धेरैजसो उनको विगतका दिन यस्तै विरह र वेदनाका गीतले महत्व पाउँथे ।
सपौंदे गाउँ स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्वर ७ मा पर्दछ । एक दशक लामो गीत सङ्गीतको अनुभवी हुन् ज्ञानधरी । जीवनको उत्तरार्धमा आएर गाउँमा हुने पूजाआजा र भोजभतेरका रमाइलोका अवसर उनका लागि मनभरीका रहर मेटाउने माध्यम बनेका छन् । एक दशक गुञ्जिएको ज्ञानधरीको गला र कला अहिले गाउँमै थन्किएको छ ।
रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र पोखरामा सञ्चालन हुने देउराली कार्यक्रमबाट गुरुङले गायनयात्रा सुरु गरेकि हुन् । त्यतिबेला—“खोली तिरैछ हाँसेनी बोलेनी हे आमा मनमा पीरैछ....” भन्ने गीत गाएको ज्ञानधरी सुनाउँछिन् । यसरी उनको कलाकारिता अगाडि बढेको थियो ।
पछिल्लो समयमा आफ्ना सहयात्री बाहेकका लागि उनको कलाकारिता अपरिचित जस्तै छ । गायनका लागि इच्छाशक्तिसँगै स्वर, गायकी र ज्ञान आवश्यक पर्छ । यी तीनै कुरामा दक्ष ज्ञानधरीको जीवन अहिले गाउघरको उकाली ओरालीसँगै गुडिरहेको छ । लोकदोहोरीगीत क्षेत्रका चर्चित गायिका दुर्गा गुरुङ, रीम गुरुङ, राम्चेकी भूमति गुरुङ उनका उ बेलाका सहयात्री हुन् ।
गायन यात्रा अगाडि बढाउँदै गर्दा २०५२ सालमा राजाको जन्मोत्सवका अवसरमा पोखरामा आयोजित “राष्ट्रियगीत गायन” प्रतियोगितामा सहभागी हुने अवसर मिलेको थियो । त्यस अवसरमा “नजाउ विदेश सुन हे दाजुभाई आफ्नै देशमा खान र लाउन पुग्छ है हामीलाई”...भन्ने बोलको गीत उनले सुनाइन् । यो गीत गाएर प्रमाणपत्र प्राप्त गरेपछि आफूलाई निकै हौसला मिलेको ज्ञानधरी बताउछिन् । यो गीतको गायकीमा हुनुपर्ने माधुर्यता अहिले पनि पहिलाकै जस्तो स्वरमा गाउँने क्षमता छ । सूरताल, खिड्का र माधुर्यता अहिले पनि उस्तै छन्, तर उनको त्यो प्रतिभा सपौंदेमै सीमित छ । गुरुङको यो उत्कृष्ट शव्दसहितको गीतले नेपाल र नेपालीको वास्तविकता बोल्ने यो एक लाइन पङ्क्तिबाटै बुझिन्छ ।
कलाकारिताको सन्दर्भमा ज्ञानधरी भन्छिन्—“रेडियो नेपालको गायिका बन्ने सपना बोकेर स्वर परीक्षा दिने निधो गरें । सोही अनुसार २०५४ सालमा रेडियो नेपालमा स्वर परीक्षा पनि पास गरें र औपचारिकरुपमा गीत गाउन थालें । त्यतिबेला तीनवटा गीत फरक फरक भाकामा गाउनुपथ्र्यो । एक पटकमै स्वर परीक्षा पास गरेर रेडियो नेपालमा गीत रेकर्ड गराएकी हुँ । स्वर परीक्षामा गाएको गीतमध्येको “सपौंदेको सीर, के लेख्यो भावीले सधैं मलाई पीर.....” रेडियो नेपालमा मेरो पहिलो रेकर्ड हो, जुन अहिले पनि कान्तिपुर एफ एम लगायतमा बजेको सुनिन्छ । यसैगरी सहयात्री दुर्गा गुरुङसँग सोरठी गीत गाएँ, जुन अहिले पनि सम्झना छ, गाउनसक्छु ।”
पोखरा र काठमाडौका कल्चर ग्रुपमासमेत गाएकी गुरुङ २०६२ सालसम्म आफ्नो कलाकारिता क्षेत्रमै स्थापित हुन दत्तचित्त थिइन् । सहयात्रीहरु दुर्गा गुरुङ र भूमती गुरुङकोसाथमा अरु धेरै साथीहरुको एलबममा गाएको उनी बताउछिन्, तर सोंचेजस्तो हुँदो रहेनछ, साथीहरु अगाडि बढ्दैगए, म भने अकस्मात स्वास्थ्यमा समस्या आएपछि गाउँ फर्किन बाध्य भएँ । यसरी एक दशकको साङ्गीतिक यात्राले अर्कै मोड लियो र त्यसयता ज्ञानधरी गाउँघरमै सीमित भएकी हुन् ।
मैले ज्ञानधरीको घर सपौंदेमै पुगेर उनको कलाकारिता र जीवनयात्राको भलाकुसारी गरेको हुँ । त्यही कुराकानीका आधारमा यो समाचार तयार पारिएको हो ।
उ बेलाको जस्तै रहेको गायकी र आवाजको माधुर्यताले निरन्तरता पाउन नसक्नुमा अरु कोही नभएर आफ्नै स्वास्थ्य वाधक बनेको भनी मन बुझाउने गरेको उनी बताउँछिन् । बेला बेलामा बेसुर हुनु र ठीक ठाउँमा आउन धेरैदिन लाग्नु उनका लागि बल्झिएको समस्या हो । जसका कारण बाहिरतिर हिड्डुल गर्न त्यति नहुने र गैहाले पनि छिट्टै घर फर्किनुपर्ने अवस्था रह्यो । तर पनि आफूभित्रको इच्छा र प्रतिभा लुकाउन वा दवाउन सकिदोरहेनछ । त्यसैले त गाउँ समाजमा हुने पूजाआजा, भोजभतेर, चाडपर्वका बेला दिदी बहिनीहरुको साथमा रहेर गाउने र रमाइलोमा सरिक हुने गर्दछु, ज्ञानधरी भन्छिन्, चन्द्रबहादुर गुरुङ, पृथ्वी गुरुङ, मोहनराज गुरुङ, रेशम गुरुङ तथा दुर्गा गुरुङ लगाएतका सहयात्रीहरुलाई सम्झन्छु ।
सोरठीगीत, बरै भाका, सालैजो, ठाडो भाका एवम् झ्याउरे लगाएतका मौलिक गीतका बारेमा उनलाई राम्रो ज्ञान छ । गाउँमा विभिन्न पूजाआजा जस्ता अवसरमा “सीरमा रीवन सलको पछ्यौरी...., ज्याग्दीखोलाको किनारै बसेर.....” लगायत राजेन्द्र लम्साल क्षत्रीका लोकप्रिय गीतहरु विगतका दिनमा निकै गाइन्थ्यो र अहिले पनि मौका मिल्दा गाउने ज्ञानधरी सुनाउछिन् ।
केही समयको कुराकानीको अन्तमा उनी भन्छिन्–“अहिले उबेलाका सङ्गीहरु कोही पोखरा काठमाडौं त कोही जापान अमेरिकामा छन्, सबैलाई सम्झन्छु । गीत सङ्गीतलाई निरन्तरता दिएका वा अन्य पेशा व्यवसायमा लागेका सबैलाई शुभकामना छ ।”



Leave A Comment