pokhara news

सामुदायिक विद्यालयमा पठनपाठन सुचारु गर्न स्याङ्जाका पालिकाहरुको आग्रह

वैशाख १०, वालिङ ।
देशव्यापी शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्रका समयमा पनि सामुदायिक विद्यालयमा पठकपाठन सुरु हुन सकेको छैन् । विभिन्न माग गर्दै शिक्षकहरु काठमाडौ केन्द्रित आन्दोलनमा छन् । यता विद्यालयमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण तथा कक्षा सञ्चालन हुन सकेको छैन् । निजी विद्यालयहरुले भने वैशाख ४ गतेबाट नै पठनपाठन शुरु गरिसकेका छन् । यस्तो अवस्थामा स्याङ्जाका २ पालिकाले तुरुन्त पठनपाठन सुचारु गर्न विद्यालयहरुलाई आग्रह गरेका छन् ।
स्याङ्जाको बिरुवा गाउँपालिका र गल्याङ नगरपालिकाले विद्यालयहरुलाई यस्तो आग्रह गरेका हुन् । लामो समयको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना सञ्चालन, पठनपाठनमा बाधा परेको भनि अभिभावक तथा सरोकारवालाहरुले गुनासो गरेको भन्दै विरुवा गाउँपालिकाले वैशाख ९ गतेबाट विद्यालय सञ्चालन गरी भर्ना तथा पठनपाठनलगायतका सम्पूर्ण क्रियाकलाप गर्न आग्रह गरेको हो । गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरका अनुसार बुधबारदेखि पालिकाका अधिकांश विद्यालय खुलेका छन् । पालिकामा आधारभूत विद्यालय र मावि गरी ३३ सामुदायिक विद्यालय रहेका छन् । नखुलेका दुई विद्यालयलाई सम्पर्क गरी विद्यालय खोल्न समन्वय भईरहेको अध्यक्ष कुँवरले बताउनुभयो ।  
यसैगरी गल्याङ नगरपालिकाले पनि वैशाख १४ गतेबाट पठनपाठन सुचारु गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । कार्यपालिकाको बुधबार बसेको बैठक र नगर शिक्षा समितिको मङ्गलबार बसेको बैठकको निर्णय अनुसार शिक्षक आन्दोलनका जायज मागहरुप्रति ध्यानार्कषण भएको जनाएको छ । नयाँ शैक्षिक सत्र सुचारु हुँदा पनि नियमित पठन पाठन शुरु नहुँदा विद्यार्थी, अभिभावक र दीर्घकालिन रुपमा समाजमा नकारात्मक प्रभाव पार्ने छ । नगरले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षालाई मुख्य प्राथमिकतामा राखेको अवस्थामा यस्तो गतिविधिले पूर्णता नपाउने भएकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।
कार्यपालिका तथा नगरशिक्षा समितिको बैठकले अविलम्ब नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरु तत्काल सञ्चालन गरी १४ गतेबाट नियमित रुपमा पठनपाठन गराउन नगरपालिको आग्रह छ ।
त्यस्तै हरिनास गाउँपालिकाले पनि विद्यालय सञ्चालन गरी पठनपाठन गराउन आग्रह गरेको छ । पालिका अध्यक्ष खिमनारायण मानन्धरद्वारा जारी पत्रमा विद्यालय खोली पठनपाठन सुचारु गर्न आग्रह गर्दै गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक, कर्मचारी  तथा बाल शिक्षकहरुको हकमा विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने भनिएको छ ।
वालिङ नगरपालिका वडा नं. १३ लेसमेत विद्यार्थीको भविष्यमा समर्पित हुन आग्रह गरेको छ । सामुदायिक विद्यालय प्रति अभिभावकहरुको विश्वास घट्दो क्रममा रहेका बेला नयाँ शैक्षिक सत्रका समयमा विद्यालय पूर्ण रुपमा बन्द गर्न झनै चुनौती रहेको वडाले एक अनुरोध पत्र प्रकाशन गरी जनाएको छ ।
सामुदायिक विद्यालयमा अभिभावकहरुको विश्वास आर्जन गर्नु नागरिकका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु शिक्षकहरुको दायित्व तथा कर्तव्य हो । प्रधानाध्यापक आन्दोलनमा सहभागी भएपनि अन्य शिक्षकहरु विद्यालयमा बसेर भर्ना कार्यक्रम तथा पठनपाठन सुरु गर्न अनुरोध गरेको छ । राज्यलाई चुनौती दिँदै विद्यालयमा फर्केर विद्यार्थीको भविष्यप्रति समर्पित हुन आग्रह गरेको हो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर